अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ती माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोमबार रोशी गाउँपालिका-९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीचमा गाडी अड्किएका थिए । प्रहरीका अनुसार लामो प्रयासपछि राति १ बजे यात्रु र गाडीको उद्धार गरेर गन्तव्यतर्फ पठाइएको हो ।
वर्षाका कारण रोसी खोलामा बाढी आउन थालेपछि प्रहरीले सवारी साधन रोकेको समयमा जबरजस्ती ती गाडीहरू अघि बढाएकाले बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए । वर्षाको समयमा जबरजस्ती यात्रु बोकेर अघि बढेका पाँचवटै गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले अस्थायी डाइभर्सन सडक बगाएपछि खोलामा अड्किएका गाडी भने सोही स्थानमा रहेका छन् ।
२०८१ असोज दोस्रो साताको बाढीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो । त्यसपछि रोसी खोलाको किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । सामान्य वर्षापछि पनि रोसी खोलामा बाढी आउँदा यातायात अवरुद्ध हुने गरेको छ । बाढीबाट क्षतिग्रस्त राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ ।
वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराइएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले आज साँझ ५ बजेदेखि आवागमन बन्द गराइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रीलाई अपिल गरिएको छ ।