निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण, सोही दफाको उपदफा (३) बमोजिम निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको जानकारी गराइन्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको हुँदा कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारले पेश गरेका विवरण वेबसाइटमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम उम्मेदवारको संख्या ३४ सय ६ कायम भएको छ । त्यसमा ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र अन्य समूहका १ जना छन् । उम्मेदवारहरूको कायम भएको अन्तिम संख्यामा २५-४० उमेर समूहका १ हजार ५६, ४१-६० उमेर समूहका १ हजार ९ सय २५ र ६१ वर्षभन्दा माथि उमेरका ४ सय २५ जना छन् ।
मनोनयन दर्ता गरेकामध्ये ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दाबी विरोध तथा निर्वाचन अधिकृत कार्यालयले छानबिन गर्दा कागजात नपुगेका ९ जनाको भने उम्मेदवारी रद्द भएको थियो । ३४ सय ८७ ले मनोनयन दर्ता गराएका थिए ।