गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुनका कारण आएको बर्षा र त्यसपछिको बाढि र पहिरोमा परि हालसम्म देशभर ४१ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता छन् भने ५५ जना घाइते भएका छन् । मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएको मन्त्रालयका सहसचिव पन्थले जानकारी दिए ।
विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।
मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिरोका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा भने धानबाली लगाउने समय घर्किन लाग्दा अझै वर्षा हुन सकेको छैन ।