नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताएका छन् ।
पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे । चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिंगो देश चुनावी प्रक्रियामा होमिएको उनको भनाइ छ । यो चुनावलाई सफल पार्नु सबै तह र तप्काको साझा जिम्मेवारी रहेकोमा उनको जोड छ ।
फागुन २१ मा हुने चुनावका लागि नेकपाले आज आफ्नो चुनावी अपील पनि सार्वजनिक गरेको छ । संयोजक दाहाल र सहसंयोजक माधव नेपालद्वारा जारी अपिलमा इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधिनमा नरहेको नेपालको अहिले राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको उल्लेख छ । नेकपाले संविधान संशोधनदेखि निर्वाचन प्रणाली सुधारसम्मको प्रतिबद्धता जाहेर गरेको छ । अपिलमा भनिएको छ, ‘यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन । तथापि यो अपरिवर्तनीय दस्ताबेज भने होइन । यसको कार्यान्वयन गर्दा देखा परेका समस्या समाधान गर्नका निम्ति यसमा आश्वक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ । तर, त्यसको प्रक्रिया स्वयं संविधानले निर्देश गरे बमोजिम हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।’
संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्ने अठोट गरेको छ । ‘अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौं,’ अपिलमा भनिएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता सहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको सञ्चालन र संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने बाचा गरेको छ ।
उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
अपील :