नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । जलपक्षी गणनाका क्रममा यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका गणना संयोजक डिबी चौधरीले बताए । यो गत वर्षभन्दा दुई प्रजाति कम हन् ।
पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको चौधरीले जानकारी दिए ।
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौली गोलाघाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो ।
मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ । यो प्रारम्भिक तथ्याङ्क भए पनि नेपालमा हरेक वर्ष चराको सङ्ख्या घट्दै गएको पाइएको छ ।
साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिए । नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ ।
नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको स्थानीय बताउँछन् । निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यस वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताए ।