अमेरिका-चीन व्यापार युद्धले सुनको मूल्य प्रभावित बनेको छ । विश्वबजारमै सुनको मूल्य आकासिएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
बुधबार तोलाको २७ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३६ सय रुपैयाँ बढेको छ । दुई दिनमा नौ हजार रुपैयाँ बढेको सुन आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ ।
सुनको मूल्य आज प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ थियो । यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँ थियो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।