भारतको किट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला

Yangle News
Yangle News
२०८२ बैशाख १८ गते
भारतको किट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । त्यसपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुलाई अपमानजनक व्यवहार गरेपछि कतिपय नेपाल फर्केका थिए । तर, पछि प्रशासनले माफी मागेका कारण प्रायः सबैजसोले किट विश्वविद्यालयमै अध्ययनलाई निरन्तरता दिएका थिए ।

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन् । साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ ।