गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले हात पारेकी छन् । दर्शकको भोटका आधारमा गंगा विजेता घोषणा भएकी हुन् ।
आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि, ट्रफीसहित नगद २५ लाख तथा विभिन्न उपहार प्राप्त गरेकी छन् ।
यस सिजनमा सिक्किम (भारत)की बबिता थापामगर फस्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाखसहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौं स्थानमा आएका छन् । चौथो र पाँचौं भएका दुवै जनाले एक/एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए । सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई लाइभ प्रसारण गरिएको थियो ।
यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र अघिल्लो वर्ष करण परियारले उपाधि हात पारेका थिए ।