अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन सुरु भइसकेको छ ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ । दिवसको यस पटकको ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारा तय गरिएको छ ।