अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजीहरुको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनु पर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचिरहेको बताइन् । उनले राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि सकेको मद्दत गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन । जस कारण यो दुर्घटना भयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिनेगरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र सहिदहरूको रगतले न्याय पाउने बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । सयौं घाइते भएका थिए । घाइतेमध्ये अझै केहीको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।