नेपाल सुपर लिग (एनएसएल)को चौथो संस्करण आगामी भदौमा सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार नयाँ ढाँचाका साथ एनएसएलको नयाँ संस्करण सुरु हुने भएको हो ।
चौथो संस्करणको एनएसएल ‘होम एण्ड अवे’ प्रणालीमा खेलाइनेछ । यसअघि प्रतियोगिताका खेलहरु राजधानी काठमाडौंमा मात्र सञ्चालन हुँदै आएको थियो । लिगमा सहभागी हुने टोलीको संख्या पनि बढाइने आयोजकले जनाएको छ । यसपटक बढाएर १० देखि १२ टोली पुर्याइने घोषणा गरिएको छ । सहभागी टोलीहरुको औपचारिक घोषणा भने आइतबार हुनेछ ।
७ टोली सहभागी एनएसएलको पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो । त्यसयता भने ललितपुर सिटी एफसीले लगातार उपाधि जितेको छ । दोश्रो संस्करणमा भने सहभागी टोली ९ पुर्याइएको थियो । गत संस्करणको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।