मुलुकको संरचनामा नै हेरफेर गर्नुपर्ने देखिन्छ : पूर्वराजा शाह (पूर्णपाठसहित)

Yangle News
Yangle News
२०८१ चैत्र ३१ गते
मुलुकको संरचनामा नै हेरफेर गर्नुपर्ने देखिन्छ : पूर्वराजा शाह (पूर्णपाठसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा पारेर आज भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकरण अनिवार्य भइसकेको उल्लेख गरेका छन् । उनले नेपालीहरु यो वा त्यो वादको चक्रमा फसेको बताएका छन् । ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनको भनाई छ ।

पूर्णपाठ :

हामी नेपालीहरुको घर आँगनमा नयाँ बर्ष दुई हजार बयासी आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नव बर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ बर्ष नुतन आशा र विश्वास बोकेर आउने तर बर्षको विदाईमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ । केही दिनअघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो/नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।

नेपाली जनतामा देश र भविश्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्व मै अनूकरणीय र अनुसरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ बर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको छ ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ। स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उतपादन गरी स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।

विश्वकै उत्कृष्ट यो भूमीमा, बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र शीपलाई स्वदेशमै उच्च उपयोग गर्नु पर्दछ । युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।

विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन । आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिम्वत् खण्ड नेपाल सिँगार्न र विकासको विगुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।

जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकरण अनिवार्य भइसकेको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । ‘सूशासन र भ्रष्टाचारमुक्त प्रशासन’ मूल नारा हुनु पर्दछ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा हाम्रो एकबद्धता रहने छ । मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।

नेपाली नेपालीबीच द्वन्द नहोस् परस्पर अविश्वास र हिंसाको दु:खद मनोस्थिति नबनोस्, देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्ने तर्फ हामी सदैब सचेत र सम्बेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको यर्थाथलाई हामीले आत्मसाथ गरेका छौं, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपूर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वत: र अस्तित्व हामी आफैँले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।

आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस् ।

श्री पशपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !