आइसीसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले सुखद सुरुवात गरेको छ ।
युएईलाई डकवर्थ-लुइस सिस्टम (डीएलएस)को आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको हो । यो हारले युएईका यायिन किरण रायको सतक छायाँमा परेको छ ।
जितको लागि २ सय १ रनको विजय लक्ष्य पछ्याएको युएई ३६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रनमा रोकियो । यसपछि बाँकी ४ ओभरको खेल खराब प्रकाशका कारण सम्भव हुन सकेन । जितका लागि युएईलाई २४ बलमा ३० रन बनाउनु थियो । शतक बनाएका यायिन क्रिजमै थिए । तर खराब प्रकाशको कारण अम्पायरको निर्णयसँगै युएईले ५ रनको हार बेहोर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलको सुरुवात नेपाली युवा टोलीले ब्याटिङबाट गर्यो ।
आजै भएको खेलमार्फत अफगानिस्तानले सानदार सुरुवात गरेको छ । अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गरेको हो । मुलपानीको माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो । निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो । जवाफमा ९१ रनको सहज विजय लक्ष्य अफगानिस्तानले ११.१ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो ।
भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ ।