हजारौं प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य अमेरिकाका अन्य सहरमा डोनाल्ड ट्रम्प र उनको कडा नीतिहरू विरुद्ध प्रदर्शनको दोस्रो प्रमुख चरण आयोजना गरेका छन् ।
न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालयबाहिर भेला भएका थिए । आप्रवासीहरूलाई पक्राउ गर्न आप्रवासन र भन्सार प्रवर्तन एजेन्सीको भूमिकाको सन्दर्भमा धेरैले “नो आइसीई, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ’ भन्दै ट्रम्पको कागजातविहीन आप्रवासीहरूको निर्वासनलाई लक्षित गरेका थिए ।
वासिङ्टनमा प्रदर्शनकारीहरूले ट्रम्पले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यताहरूलाई खतरामा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रदर्शनकारीहरूले यो अभियानलाई ५०५०१ (पचास, पचास, एक) नाम दिएका छन् । यसको अर्थ- ५० प्रदर्शन, ५० राज्य, १ आन्दोलन भनिएको छ । सो समूहका प्रवक्ताले शनिबार ‘ट्रम्प प्रशासनको अधिनायकतावादबाट लोकतन्त्रको रक्षाका लागि आन्दोलन’ गरिएको बताएका थिए ।
यसबाहेक प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको पनि विरोध गरेका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका थिए । उनीहरूले ट्रम्पलाई सभ्यता र कानूनको शासनलाई कुल्चेको आरोप लगाएका छन् ।
ह्वाइटहाउसबाहेक प्रदर्शनकारीले टेस्ला शोरूमहरू पनि घेरेका थिए । यो ट्रम्प विरुद्धको दोस्रो चरणको विरोध प्रदर्शन हो । यसअघि अप्रिल ५ मा देशभर ट्रम्पविरुद्ध प्रदर्शन भएको थियो ।