संघीय संसद्को बजेट अधिवेशन आन सुरु हुँदैछ ।
संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेश गर्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।
दलहरूले पनि बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे आ–आफ्नो तयारी गरेका छन् । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन दबाब दिने निर्णय पनि गरेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसद्मा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्मा पार्टीको तर्फबाट धारणा राख्नने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । माओवादीको तर्फबाट कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन । रास्वपाले संसद बैठकमा डीपी आर्यालले बोल्ने तय गरिसकेको छ ।
यो बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन ।