काठमाडौंको भृकुटीमण्डपमा १७औं संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको नाडा अटो शो आज (भदौ ८) सकिएको हो ।
यस पटकको नाडा अटो शो भव्य रूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । उनल भने, ‘हामीले १७औं संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौं । यो ऐतिहासिक शोमा एक लाख ६० हजार बढी दर्शकले अवलोकन गर्नुभएको तथ्यांक छ ।’
नाडाको ६ दिन ऐतिहासिक उपलब्धि भएको चौधरी बताउँछन् । ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ अध्यक्ष चौधरीले भने ।
समापन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्मा उठाउने बताए । नेपालमा प्रत्येक वर्ष हजारौं मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउन सके कम हुने उनको भनाइ छ ।
प्रदर्शनीमा नाडाले हरेकदिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
प्रदर्शनीमा पछिल्लो समय उत्पादन भएका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेन्टजस्ता सामग्री राखिएका थिए ।