पर्यटकका रूपमा आउने कुनैपनि विदेशी नागरिकले अबदेखि आफूखुशी नेपाल घुम्न नपाउने भएका छन्। अप्रिल १ बाट लागू हुनेगरि फ्रि इन्डिभिजवल ट्रेकर एफआईटी सिस्टम विपरित नेपाल आउने विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको हो ।
नेपालको साहसिक गन्तव्यमा पद यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसअघि विदेशी पर्यटकहरूले नेपाल पर्यटन बोर्डले बनाएको टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड खरिद गरी आफूखुशी एक्लै पदयात्रा गर्दै आएको थिए । नेपाल पर्यटन बोर्डको बिहीवार बसेको बैठकले कुनैपनि विदेशी नागरिकलाई आफूखुशी घुमफिर गर्न जान प्रतिबन्ध गरेको हो ।
पर्यटक एक्लै घुमफिरमा जाँदा लडेर घाइते हुने, उद्धारमा कठिनाइ हुने, हराउने तथा पर्यटकको मृत्यु हुने घटना बढेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । आफूखुशी गएका पर्यटकको मृत्यु भएका घटनाले अन्तरराष्ट्रियस्तरमै बदनाम भएका कारण यस्तो निर्णय गरेको रिजालले बताएका छन् ।
यसअघि २०२२ अक्टोबर १ बाट एफआईटी (फ्री इन्डिभ्युजल ट्रेकर) बन्द गर्ने निर्णय भएपनि सो व्यवस्था कार्यान्वयन भएको थिएन । निर्णय कार्यान्वयन लागि बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान)र पर्यटन स्वतन्त्र मजदुरबीच सहमति भएको छ ।
टान र पदयात्राको क्षेत्रमा काम गर्ने श्रमिकहरूले नेपाल पर्यटन बोर्डले व्यक्तिगत पदयात्रीका लागि दिँदै आएको टिम्स कार्ड बन्द गर्नुपर्ने र त्यसरी आउने विदेशीहरू नेपालका कम्पनीमार्फत पदयात्रामा जानुपर्ने माग उठाउँदै आएका थिए।
बोर्डको यो निर्णयपछि नेपाल घुम्न आउने विदेशी पर्यटकहरू अब कम्पनी मार्फत पदयात्रामा जानुपर्ने भएको छ। पदयात्रीहरूका लागि एफआईटी, टिम्स कार्ड बोर्डले जारी गर्दै आएको थियो ।
टिम्स कार्डको मूल्य पनि बढ्यो
बोर्डले एफआईटीका लागि जारी गर्ने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्याइएको छ । अर्थ मन्त्रालयबाट शुल्क बढाउने स्वीकृति लिएर पर्यटन मन्त्रालयको सहमतिमा टिम्स कार्डको मूल्य बढाउने निर्णय भएको बोर्डले जनाएको छ ।
नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।