मुस्ताङमा एक वर्षमा छैसठ्ठी हजार पर्यटक

Yangle News
रासस
२०७९ पुस १७ गते
मुस्ताङमा एक वर्षमा छैसठ्ठी हजार पर्यटक

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ ।

“कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उहाँले भन्नुभयो “पछिल्लो पाँच वर्षयताकै धेरै पर्यटक यसपाली आएका छन् ।” उहाँका अनुसार अठतालीस देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् ।

कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ । सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । सन् २०२० मा दुर्ई हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए ।

विसं २०२२ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार सात सय २४ पयृटक सार्क राष्ट्रका छन् । उन्नाइस हजार दुई सय छजना तेस्रो मुलुकका हुन् भने १३ हजार छ सय २५ पर्यटक मनाङ हुदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् ।

यसैगरी तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार तथा तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटल व्यवसायी र मजदूरलाई राहत मिलेको लोमान्थाङका घरबास सञ्चालक टासी गुरुङले बताउनुभयो ।

408 views