गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

Yangle News
Yangle News
२०८२ माघ २ गते
गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।

शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । दुवै निवेदनपछि गगन थापाले नेतृत्व गरेको कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।

आयोगले आधिकारिकता दिएपछि नेपाली कांग्रेसका सभापति थापाले बैठक बोलाएका छन् । निर्वाचन आयोगको निर्णयपछि सभापति थापाले बैठक बोलाएको प्रवक्ता देवराज चालिसले बताए । ‘तत्काल बैठक बस्दै छ । हामीले सय प्रतिशत कांग्रेस बनाउनुपर्छ। एउटा प्रक्रियामा पो विशेष महाधिवेशन गरेका हौं। उहाँहरू कांग्रेस होइन भन्ने होइन,’ चालिसेले भने । सबैलाई समेटेर लैजान बैठक बोलाएको उनको भनाइ छ ।

आयोगको निर्णयपछि देउवा पक्ष भने आक्रोशित बनेको छ । साविक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए । आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टी विधानको धज्जी उडाएकाले प्रतिवाद गर्ने उनको भनाइ छ । छलफल गरेर आगामी रणनीतिबारे जानकारी गराउने उनले बताए ।