प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, पराराष्ट्रले थाल्यो तयारी

Yangle News
Yangle News
२०८२ साउन ५ गते
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, पराराष्ट्रले थाल्यो तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले पद सम्हालेको १४ महिनापछि भारत भ्रमण गर्ने निश्चित भएको हो ।

ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्नेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि भदौ ३१ गते भारत प्रस्थान गर्ने टुंगो लागे सचिवालयले जनाएको छ । ओली भारत भ्रमणमा जान चाहे पनि उनलाई भारतीय पक्षले निम्तो नै नदिँदा भारत भ्रमण भएको छैन । ओलीले परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई भारत भ्रमणमा पठाएर आफ्नो भ्रमण गराउन पटकपटक प्रयास गरेपनि राणा सफल हुन सकेकी थिइनन् ।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतबाट ओलीलाई भ्रमणको निम्तो आइसकेको र भ्रमणको मितिमा पनि सहमति भइसकेको छ ।

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीले भ्रमण निश्चित भएको र मिति पछि घोषणा हुने जानकारी दिए  । ‘भारतीय समकक्षीबाट निमन्त्रणा आएपछि तयारी तीव्र रूपमा भइरहेको छ,’ उनले भने, ‘द्विपक्षीय एजेन्डा, मिति र अन्य विषय अहिल्यै भन्न मिल्दैन  । मन्त्रालयका तर्फबाट तयारी अन्तिम चरणमा छ ।’

परराष्ट्रमन्त्री आरजु राणाले भदौ ३ गते सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवासमा भेटेकी थिइन् । मोदीसँगै भारतीय पक्षबाट उच्च तहका पदाधिकारी सहभागी थिए । प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा । एस जयशंकर, विदेशसचिव विक्रम मिश्री, मोदीका निजी सचिव पिके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थित थिए ।

गत वर्ष पुस ४ गते परराष्ट्र मन्त्रालयले नै प्रधानमन्त्री केपी ओली पुसभित्रै भारतको भ्रमणमा जाने बताएको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको जनाएको थियो । तर त्यसपछि यो कुरा फेरि रोकिएको थियो ।

चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए । तर भारतबाट जवाफ नआएपछि ओली चीनतिर लागेका थिए । गत मंसिर २० गते ओली चारदिने चीन भ्रमण सकेर काठमाडौं फर्किएका थिए ।