पशुपति क्षेत्र तत्काल सफा गर्न मन्त्री किरातीको निर्देशन

Yangle News
Yangle News
२०७९ माघ १८ गते
पशुपति क्षेत्र तत्काल सफा गर्न मन्त्री किरातीको निर्देशन

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरूलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् ।

उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे । उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन,अल्पकालीन र दीर्घकालीन क्यालेण्डर बनाउन आग्रह गरे । उनले मन्त्रालयले क्यालेन्डर अनुसार काम भए-नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए ।

मन्त्री किरातीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए । उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए । उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरू गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरू सञ्चालन गर्नु सामान्य काम भएको बताए । मन्त्री किरातीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए ।

उनले भने,‘ पशुपतिमा धेरै अपवित्र कुरा सुनिन्छ । म यो हो त्यही हो भन्दिनँ, तर पशुपतिमा फूल बेच्नेले महँगोमा बेच्दा किन महँगोमा बेचेको भन्दा मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ अरे ? एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुन्छ । यहाँको फोटो खिच्नेहरु कहाँ गए । प्रमाण पेस गर्न नपरोस् । एक, दुई लाख,पाँच लाख होर डिलिङ ? २० लाख पनि होइन लाखौं लाख के सुन्नुपरेको पशुपतिनाथमा मैले ? कुन चाहीँ मन्त्रीलाई पैसा दिनुभयो मलाई नाम दिनु पत्रकारसँग पढेर सुनाउँछुृ । भगवानमाथि भ्रष्टाचार गर्ने ?

मन्त्री किरातीले मान्छे जलाउने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिए ।

355 views