३१औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

Yangle News
Yangle News
२०८१ चैत्र ४ गते
३१औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।

थापाको जन्म २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा भएको हो । उनले कानुनमा स्नातक, राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रहरी सेवामा प्रवेश गरेपछि सुरुवाती दिनमा उनले बनेपा, बुटवल र गरुडा इलाका प्रहरीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुख भएर पनि काम गरे । त्यसपछि उनी काठमाडौं उपत्यकाअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा जिम्मेवारी सम्हाले ।

उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रमुख भएर पनि काम गरे । महाराजगन्ज र बुटवल तालिम केन्द्रको जिम्मेवारी सम्हालेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल प्रमुख पनि बने । त्यसपछि उनी काठमाडौं उपत्यका अपराध कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालयको पनि जिम्मेवारी सम्हालेका थिए ।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरिया गएका उनले विदेश र स्वदेश गरेर २५ तालिममा सहभागी भएका छन् ।