सात लाख थान राहदानी खरिद सम्झौता

Yangle News
Yangle News
२०८२ मंसिर ५ गते
सात लाख थान राहदानी खरिद सम्झौता

राहदानी विभागले सात लाख थान विद्युतीय राहदानी तथा वैयक्तिकरण सेवाका लागि वर्तमान आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ । यसबाट अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विभागले आज सार्वजनिक गरेको सूचनामा तीन हप्ताभित्र राहदानी पुस्तिकाको पहिलो किस्ता प्राप्त हुनेछ । त्यसपछि क्रमिक रूपमा थप आपूर्ति जारी रहने उल्लेख गरिएको छ ।

पर्याप्त मौज्दात सुनिश्चित भएसँगै केही समयदेखि बाध्यात्मक रूपमा गरिएको राहदानी उत्पादन कटौती हटाएको विभागले जनाएको छ । सेवा प्रवाहलाई सहज बनाउन विभागले नयाँ व्यवस्थाहरू लागू गरेको जानकारी दिएको छ । दैनिक एक हजार ‘एपोइन्टमेन्ट स्लाँट’ उपलब्ध गराउँदै आएकामा सेवाग्राहीको माग तथा विभागीय क्षमताअनुसार सो संख्या थप विस्तार गर्दै लगिने विभागले जनाएको छ । आवश्यक जनशक्ति परिचालन गरी अतिरिक्त समयमा पनि राहदानी छपाइ तथा वितरण कार्य छरितो बनाइने भएको छ ।

विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीका राहदानीहरू एकदेखि दुई हप्ताभित्र छपाइ गरी पठाइने व्यवस्था यथावत रहेको विभागले जनाएको छ । जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत आवेदन दिने सेवाग्राहीमध्ये गत कात्तिक १५ गतेसम्म आवेदन दर्ता गराएकाहरूका राहदानी दुई हप्ताभित्र पठाइनेछ भने सो मितिपछि प्राप्त आवेदन पहिलेझैं क्रमशः छपाइ गरी पठाइने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।