सगरमाथा आरोहणको ७०औं वार्षिकोत्सव पारेर सोलुखुम्बुको खुन्दे र खमजुङ गाँउमा फाइबर इन्टरनेट सेवा सुरु गरिएको छ । एभरेष्ट कम्युनिटी नेटवर्कले दुई गाउँमा फाइबर इन्टरनेट पुर्याएको हो । सो कार्यका लागि नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीले संयुक्त प्रयास गरेका थिए ।
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको दिनको सम्झनामा सगरमाथा दिवस मनाउने गरिएको हो ।
यसअघि खुन्दे र खुम्जुङ गाउँमा वायरलेस प्रविधि रहेकामा त्यसैलाई फाइबरमा अपग्रेड गरिएको हो ।
फाइबर विस्तार भएसँगै दुवै गाउँका बासिन्दा तथा सगरमाथा आरोहण गर्न आउने आरोहीले अब उच्च गतिको इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।
फाइबर पुगेपछि खमजुङ माध्यमिक विद्यालय, एडमन्ड हिलारीले स्थापना गरेका खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान गरिने भएको छ ।
पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने भएको छ ।
उच्च गतिको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलि हेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शेर्पाहरूको बसोबास रहेको खुन्दे र खुम्जुङमा होमस्टेको समेत व्यवस्था छ । यी गाँउहरू खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छन् । जसको जनसंख्या करिब नौ हजार छ ।
सगरमाथा दिवसको अवसरमा सोलुखम्बुमा आयोजित कार्यक्रममार्फत फाइबर इन्टरनेट परियोजनाको औपचारिक सुरूवात गरिएको हो ।