राष्ट्रपतिले गरे इन्द्रजात्राको अवलोकन, सबै उच्चपदस्थ पैदलै पुगे गद्दी बैठक

Yangle News
Yangle News
२०८० अशोज ११ गते
राष्ट्रपतिले गरे इन्द्रजात्राको अवलोकन, सबै उच्चपदस्थ पैदलै पुगे गद्दी बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन् । यसरी राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएर इन्द्रजात्रा अवलोकन गरेको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

Yangle News

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरु, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म पुगेका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो । बिहीबार तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ।