मस्कोमा रातभर युक्रेनको ड्रोन आक्रमण, सबै विमानस्थल बन्द

Yangle News
Yangle News
२०८२ बैशाख २३ गते
मस्कोमा रातभर युक्रेनको ड्रोन आक्रमण, सबै विमानस्थल बन्द

युक्रेनले रुसी राजधानी मस्कोमा रातभर ड्रोन आक्रमण गरेको छ । मस्कोलाई निशाना साँधेर युक्रनेले लगातार दोस्रो रात ड्रोन आक्रमण गरेको रुसले दावी गरेको हो ।

युक्रेनले गरेको ड्रोन आक्रमणबारे टेलिग्राममा जानकारी दिँदै रुसको एभिएसन वाचडग रोसावियात्सियाले सुरक्षाको सुनिश्चितताका लागि राजधानीका सबै चार विमानस्थल अस्थायी रूपले बन्द गरिदिएको बताएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार कम्तिमा पनि १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट शहरमा पुग्नुअगावै नष्ट भएका थिए ।

उनले नष्ट गरिएका ड्रोनको भग्नावशेष शहर आउने प्रमुख राजमार्गभन्दा केही पर झरेका बताएका छन् । युक्रेनी आक्रमणमा हताहति भए/नभएको भने यकिन विवरण सार्वजनिक भएको छैन ।

उता युक्रेनले भने यसबारेमा टिप्पणी गरेको छैन । तर, युक्रेनको शहर खारकिभका मेयरले रुसले रातभर शहर तथा किएभमा ड्रोन आक्रमण गरेको बताएका छन् ।