यी १९ देशका नागरिकले पाएको ग्रीनकार्ड पुनरावलोकन गर्दै अमेरिका

Yangle News
Yangle News
२०८२ मंसिर १२ गते
यी १९ देशका नागरिकले पाएको ग्रीनकार्ड पुनरावलोकन गर्दै अमेरिका

अमेरिकाले १९ देशका नागरिकले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टिले संवेदनशील मानिएका १९ देशका सबै नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागिएको हो ।

बुधबार राजधानी वाशिङ्टन डिसीमा नेशनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए । यो घटनामा सन् २०२१ मा अमेरिका छिरेका अफगानी नागरिकको संलग्नता रहेको बताइएको छ ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस)का निर्देशक जो एड्लोले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्ण रूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन् । यूएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ ।

ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुण्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सीएनएनले जनाइएको छ ।

वासिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमान उल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान सार्वजनिक भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाएको हो ।