मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई कारागार पनि घरभन्दा फरक नलागेको बताएका छन् । उच्च अदालतले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जालमा स्टाटस राख्दै यस्तो बताएका हुन् ।
‘मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरूमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।
उनले तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने बताएका छन् । ‘म मेरो लागि हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन,’ उनले भनेका छन् ।
तीनकुने घटनामा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका दुर्गा प्रसाईंलाई आज धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो । उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले सोमबार ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जेठ २९ गते काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न रहेको अभियोगमा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने र बाँकीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालत पाटनले नै बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो मागदाबी गरिएको थियो । प्रसाईँविरूद्ध आइतबार मात्र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो । जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो ।
गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो । त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो । घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । प्रसाईँलाई लगाइएकोमध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि जिल्ला अदालतले भनेको थियो । तर, आपराधिक उपद्रवमा भने संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो ।