पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध सुन तस्करी र संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यस बेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए । २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भित्र लुकाइएको ९ किलो ११.५२४ ग्राम सुनसँग प्रत्यक्ष सम्बन्धित रहेको आरोपमा सोमबार उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उक्त परिमाणको सुनको तत्कालीन बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ रहेको बताइएको छ । दायर मुद्दाअनुसार महराले आफ्नो उच्च राजनीतिक पद र प्रभावको दुरुपयोग गर्दै चिनियाँ नागरिक दावाजिन वाङसँगको मिलेमतोमा संगठित रूपमा सुनको चोरी पैठारी गरेको आरोप छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनले महराको यस प्रकरणमा संलग्नता औंल्याएको थियो । प्रतिवेदनका साथै महरा र दावाजिन वाङबीच विभिन्न मितिमा भएका फोन सम्पर्क तथा भेटघाटलाई समर्थन गर्ने कल डिटेल र विभिन्न व्यक्तिका बयानलाई पनि अभियोग पत्रमा मुख्य प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।
अभियोग पत्रमा महराका छोरा राहुल भन्ने रेशम महराको पनि यस प्रकरणमा सक्रिय संलग्नता रहेको दाबी गरिएको छ । भेप छुटाउनका लागि राहुलले तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन सम्पर्क गरेको व्यहोरा पनि खुलाइएको छ । प्रहरी प्रतिवेदन, जाँचबुझ आयोगको प्रतिवेदन, विभिन्न व्यक्तिका बयान, कल डिटेल्स र परिस्थितिजन्य प्रमाणको विस्तृत विश्लेषणपछि महराको संगठित अपराधमा संलग्नता पुष्टि भएको निष्कर्ष अभियोगमा लगाइएको छ ।
कृष्णबहादुर महरालाई भन्सार ऐन, २०६४ को दफा ५७ (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ (१), (२) र (३) (क) बमोजिम कसूर गरेको ठहर गरिएको छ । अभियोग पत्रमा उल्लेखित बिगो बराबरको जरिवाना र प्रचलित कानूनबमोजिम तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ ।
अभियोगपत्र :