ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । भदौ ३० गते मन्त्री पदमा नियुक्त भएका घिसिङले हालको विकसित ‘राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै’ आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले आफूलाई काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
आफ्नो करिब चार महिनाको कार्यकालमा मन्त्रालयहरूमा सुशासन कायम गर्न र वर्षौंदेखि अलपत्र परेर विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न आफूले इमानदारीपूर्वक प्रयास गरेको घिसिङले दाबी गरेका छन् । ऊर्जा, जलस्रोत र पूर्वाधार विकासमार्फत जनताको जीवनस्तर उकास्न आफू प्रतिबद्ध रहेको र भविष्यमा पनि देश र जनताको हितमा जुनसुकै जिम्मेवारी निर्वाह गर्न तत्पर रहने उनले उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले मन्त्रिपरिषद्का सदस्यहरू, कर्मचारी प्रशासन र सरोकारवाला सबैबाट पाएको सहयोगप्रति आभार समेत प्रकट गरेका छन् ।
उनी रास्वपाको राजनीतिमा लागेको भन्दै राजीनामा दिन दबाब बढ्दै आएको थियो । अब उनी राजनीतिमा मात्रै सक्रिय रहने बताइएको छ ।