वनप्लसले नेपाली बजारमा १६ जीबी र्याम भएको वनप्लस टेन टी सार्वजनिक गर्ने भएको छ । नेपालस्थित वनप्लसको आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले आउँदो पुस २९ गते वनप्लस टेन टी भित्र्याउन लागेको हो ।
वनप्लस टेन प्रो जस्तै डिजाइन रहेको यो फोनको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो । वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । जुन यसअघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो ।
यो फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ ।
वनप्लसका अनुसार यसमा ६.७ इन्चको एमोलेड स्क्रिन, फुल एचडि प्लस रिजोलुसन र अगाडि १२० हर्जसम्मको रिफ्रेश रेट रहेको छ ।यस फोनमा इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।
वनप्लस टेन टी को पछाडि भागमा ट्रिपल रियर क्यामेरा रहेको छ। जसमध्य ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
फोन अक्सिजन ओएस १२.१ सहित बजारमा आउनेछ । जुन गत वर्ष आएको एन्ड्रोइड १२ मा आधारित रहेको छ । यो फोन नयाँ गोलाकार आइकनहरू, विजेटहरू, र एनिमेसनको साथमा बजारमा आउनेछ ।
तर कम्पनीले यो वर्षको अन्त्य सम्ममा फोनको लागि एन्ड्रोइड १३ मा आधारित अक्सिजन ओएस १३ अपडेट ल्याउने भइको छ। वनप्लसले स्पोटिफाईसँग साझेदारी गरेर सुविधाजनक संगीत बजाउनको लागि विशेष एओडि मोड ल्याएको छ।
नेपाली बजारमा १६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।