यो वर्ष म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानले करिब दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । हालसम्म दोसल्लेको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ किसान र ब्यापारीहरुलाई सुन्तला टिपेर, ग्रेडीङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैचा रित्तिएपछि सिजनको अन्त्यमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएको किसान बताउँछन् ।
अन्यत्रको सुन्तला सकिएकाले त्यहाँको सुन्तला ब्यापारिले प्रतिक्रेट तीन हजार दुई सय सम्म मूल्य तिरेर खरिद गरिरहेका छन् । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।
बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।
दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् ।