नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला

Yangle News
Yangle News
२०८३ भदौ ८ गते
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । नागढुंगा सुरुङमार्ग सोमबारदेखि ९ सिटसम्मका निजी सवारी साधनका लागि सञ्चालनमा आएको छ । कार, जीप र भ्यानलगायत सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म परीक्षणका रूपमा सुरुङ प्रयोग गर्न दिइएको हो ।

सुरुङमार्ग सुरक्षा यूनिटका अनुसार हाल निजी सवारीबाट कुनै शुल्क लिइएको छैन । परीक्षणपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमा प्रवेश दिने तयारी छ ।

सुरुङभित्र सवारीको गति ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गर्न नपाइने, हेडलाइट बाल्नुपर्ने, सवारी रोक्न र ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ । पैदलयात्री, दुईपाङ्ग्रे तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोक्ने सवारीलाई भने प्रवेश निषेध गरिएको छ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्मित २.६८ किलोमिटर लामो यो सुरुङ नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। नियमित सञ्चालनपछि कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।