म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनामा एक करोडभन्दा बढी आम्दानी भएको छ ।
भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।
हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन ।
भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म ३१ लाख रहेको कोषको आम्दानी हाल करिब चार करोड पुगेको छ ।