गृह मन्त्रालयको प्रष्टीकरण- भ्रष्टाचारजन्य काममा कुनै संलग्नता छैन

Yangle News
Yangle News
२०८२ जेष्ठ ११ गते
गृह मन्त्रालयको प्रष्टीकरण- भ्रष्टाचारजन्य काममा कुनै संलग्नता छैन

गृह मन्त्रालयले भ्रष्टाचारजन्य काममा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो ।

शनिबार जारी विज्ञप्तिमा गृह मन्त्रालयको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको जनाएको छ । गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । ‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवं क्रिया-प्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’

‘बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा पूर्ण सहयोग रहने मन्त्रालयले उल्लेख गरेको छ ।

विज्ञप्ति :

Yangle News