नाउपा विवाद : रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

Yangle News
Yangle News
२०८२ साउन १४ गते
नाउपा विवाद : रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारूले जानकारी दिए ।

नाउपाका संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसमेत रहेकी रञ्जितालाई अध्यक्षबाट हटाउन प्रस्ताव गरेका थिए । रञ्जितालाई नाउपको अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको विषयमा नाउपाले निर्वाचन आयोगलाई समेत जानकारी दिइसकेको छ ।

पूर्व भूमिमन्त्री रञ्जिता पोखराको लिचीबारी घुसकाण्डमा मुछिएकी थिइन् । उनका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । आयोगले केही दिन पहिले उनीसँग बयान लिएको थियो ।

आफू घुसकाण्डमा मुछिएपछि रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै शिव बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन् । यो विषयमा पनि रेशम र अन्य नेताहरूले असन्तुष्टि जनाएका थिए ।