स्वतन्त्र सांसद महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक

Yangle News
Yangle News
२०८३ बैशाख १६ गते
स्वतन्त्र सांसद महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक

स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।

सांसदहरूले आफ्नो सम्पत्ति विवरण खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाउनुपर्छ । संसद् सचिवालयलाई बुझाइसकेपछि सार्वजनिक गरिएको सांसद पुनको सम्पत्ति विवरणअनुसार उनको नाममा घर छैन । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् ।

सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उनले उल्लेख गरेका छन् । जग्गा प्राप्तिको स्रोतमा उनले स्वआर्जन (अमेरिकाबाट फर्किंदा बचेको पैसा) उल्लेख गरेका छन् । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उनको भनाइ छ ।

करिब तीन तोला सुन २०६० सालतिर किनेको पुनले लेखेका छन् । तर प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाएका छन् ।

यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गरेका छन् । नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् । यो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने उनले जनाएका छन् ।

यसबाहेक आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उनले जनाएका छन् ।

सांसद पुनले यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको जनाएका छन् ।