परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन् ।
बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनीरूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन् ।
उनले विदेश जानेहरूलाई कानुनी रूपमै जानका लागि आग्रह समेत गरिन् । उनले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन् ।
महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल शुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।