अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना आइपुगे काठमाडौं

Yangle News
Yangle News
२०८२ भदौ १९ गते
अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना आइपुगे काठमाडौं

संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन्। डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक अनुसन्धानपछि उनीहरूलाई नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाई नेपालतर्फ निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका रहेका छन् । विक र सिंह महिला हुन् ।

अमेरिकी अध्यागमनले यसअघि ३७ जना नेपालीलाई निष्कासन गरेको सूचना दिएको थियो । निष्कासनमा परेका बाँकी १८ जनालाई पनि क्रमशः नेपाल ल्याइएको जनाइएको छ । यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।