अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सम्भावना समाप्त भएको छ । तेस्रो चरणको चौथो खेलमा भियतनामसँग १-० को पराजय बेहोरेसँगै नेपालको झिनो गणितीय सम्भावना सकिएको हो ।
मंगलबार हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा सम्पन्न खेलमा सेन्टरब्याक सुमन श्रेष्ठको आत्मघाती गोल भियतनामको जितमा निर्णायक बन्यो । खेलको पाँचौं मिनेटमा भियतनामको कर्नरलाई क्लियर गर्ने प्रयासमा सुमनबाट गल्ती भएको थियो । यसबाहेक गोलकिपर तथा कप्तान किरण चेम्जोङले भियतनामका आधा दर्जन गोलका अवसरलाई विफल पारे । आज नेपालका रोहित चन्दले १००औं अन्तर्राष्ट्रिय खेल खेले ।
मुसलधारे वर्षाका कारण ३० मिनेट पर धकेलिएको खेलमा नेपाललाई हिलाम्मे मैदानले गाह्रो बनाएको थियो । जहाँ नेपाललाई ‘पोसेसन’ कायम राख्न हम्मे भइरहेको थियो भने भियतनामले एकपछि अर्को अवसर सृजना गरिरह्यो । तर, भियतनामको हरेक प्रयासमा किरण बाधक बने ।
तेस्रो चरणमा नेपालको यो लगातार चौथो हार हो । पाँच दिनअघि मात्र नेपालले भियतनामसँग ३-१ को हार बेहोरेको थियो । ग्रुप ‘एफ’मा शीर्षस्थानमा रहेको मलेसिया सबै खेलमा विजयी हुँदै १२ अंकसहित शीर्षस्थानमा रहेको छ । आजै सम्पन्न चौथो खेलमा मलेसियाले लाओसलाई ५-१ ले हरायो । भियतनाम ९ अंकसहित दोस्रो स्थानमा छ । लाओससँग ३ अंक छ भने नेपाल अंकविहीन छ ।
नेपालले अब १८ नोभेम्बरमा मलेसिया र २०२६ को मार्चमा लाओससँग दोस्रो लेग खेल्ने तालिका छ ।