अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् । उनी आज विहान क्वालालम्पुर पुगेका हुन् ।
यो भ्रमणका क्रममा उनी थाइल्याण्ड र क्याम्बोडियाबीच लामो समयदेखि चल्दै आएको सिमाना विवादको अन्त्यका लागि हस्ताक्षर हुन लागेको शान्ति सम्झौतामा साक्षी बन्नेछन् ।
ट्रम्पको व्यापारिक दबाबपछि गएको जुलाई अर्थात ३ महिनाअघि पाँच दिनसम्म चलेको संघर्ष रोकिँदै युद्धविराम भएको थियो । त्यतिबेला दुई देशबीच भएको गोलाबारीमा २४ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए । मलेसिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन आसियानको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
एशियाकेन्द्रित एक हप्ताको उच्चस्तरीय भ्रमणअन्तर्गत ट्रम्प जापान र दक्षिण कोरियामा पनि पुग्ने कार्यक्रम छ । जापानमा उनले नयाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् भने दक्षिण कोरियाको ग्यङ्जुमा हुने एशिया-प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
भ्रमणको मुख्य आकर्षण भने ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच एपीईसीको बैठकमै हुने साइडलाइन वार्ता रहेको छ ।