निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै आयोगले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार असोज २१ गते बिहान १० देखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । सोही दिनको दिउँसो ३ देखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय हुने आयोगले जनाएको छ ।
यस्तै असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । यस्तै सोही दिन दिउँसो १ देखि ५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । आयोगका अनुसार निर्वाचन कार्यक्रम कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा समेत जानकारी गराएको छ । रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
विज्ञप्ति :