नेपालमा सिस्पाटिन तथा कार्वोप्लाटिन क्यान्सरको अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । अभाव हुन थालेपछि नेपाल औषधि आयातकर्ता संघ (मियान)ले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको समुचित वितरण तथा अनुगमन गर्ने भएको छ ।
नेपालका कुनै पनि औषधि कम्पनीहरूले उत्पादन नगर्ने र पूर्णरुपमा विदेशबाट आयत हुने यी औषधिहरू नेपालमा आयतकर्ताहरूले भित्राउने गर्छन् । तर विदेशी बजारमा यी औषधिहरूको मुल्य पटक-पटक बढे पछि नेपालमा भने हालसम्म मुल्य समायोजन भएको छैन, जसले गर्दा पछिल्ला दिनहरूमा आयतकर्ताहरूले यी औषधिहरू आयत नगर्दा नेपाली बजारमा यी औषधिको अभाव भएको हो ।
अध्यक्ष पवन आचार्यको नेतृत्वमा अहिले आयतकर्ता संघले नै बजारमा ल्याइएका औषधि कति छन् भने अनुगमन गर्न इकाई गठन गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रहपछि संघले औषधिको बारे अनुगमन गरी औषधि व्यवस्था विभागको समन्वयमा आवश्यकता अनुसार अस्पतालहरूमा उपचाररत बिरामीहरूको पहुँचमा औषधि पुर्याउने तयारी गरेको छ ।
संघले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधिहरू सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधिहरूको अभाव रहेको समेत विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संघले अहिले उल्लेखित औषधिहरूको मौज्दात प्राथमिक तहमा एक हप्ताको लागि र बजारमा बढीमा दुई हप्ताको लागि मात्रै रहेको बताएको छ । उसले अत्यधिक प्रयास गर्दा तीन हप्तासम्म धान्न सक्ने बताएको छ ।
संघले लामो समयदेखि उल्लेखित औषधिहरूको मूल्य समायोजन हुन नसक्दा, तथा विश्वबजारमा कच्चा पदार्थको मूल्य वृद्धि तथा पश्चिम एशियामा देखिएको द्वन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृंखलामा गम्भीर असर परेको उल्लेख गरेको छ ।
उसले १० वर्ष देखि औषधिको मूल्य समायोजन नभएको भन्दै सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्न समेत आग्रह गरेको छ ।
कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधि विशेष गरी फोक्सोको क्यान्सर, अण्डकोष, अण्डाशय, मूत्राशय र मिर्गौलाको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । यी दुई औषधि प्राय: अन्य क्यान्सर औषधिसँग मिलाएर प्रयोग गरिन्छ जसले गर्दा यी प्रकारका क्यान्सरकार बिरामीका लागि यी औषधि अत्यावश्यक औषधि हुन् ।
क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोषिकाहरू शरीरमा फैलने जोखिम हुने हुँदा चिकित्सक कुनै पनि क्यान्सरको उपचारमा ढिलाइ गर्दैनन् । त्यसैले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा क्यान्सर विशेषज्ञहरूले नै सरकारसँग यी औषधि द्रुतमार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन् ।