प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्ण रूपमा अन्त्य भएको बताएकी छन् ।
मंगलबार उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यसलाई लोकतन्त्रको अर्को महत्वपूर्ण कोशेढुंगा भएको उल्लेख गरेकी हुन् । निर्धारित समयभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति उनले आभार व्यक्त गरेकी छन् ।
प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएको तथ्यले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको गहिरो विश्वास पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ । यो राष्ट्रिय उत्साहले लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली जनता सचेत र सक्षम रहेको प्रमाणित गरेको उनले उल्लेख गरेकी छन् ।
निर्वाचनको सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले सरकारले सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएकी छन् । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमानदारीका साथ लागेको र सबै सुरक्षा संयन्त्र उच्च सतर्कता तथा व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिएकी छन् ।
निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पनि सकारात्मक ऊर्जा प्रवाह गरेको उनको ठम्याइ छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गर्दै उनले मुलुक अब विकास र स्थायित्वको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेकोमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई धन्यवाद दिएकी छन् । साथै, निर्वाचन प्रक्रियालाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।