आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा नेपालले दोस्रो हार व्यहोरेको छ । नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।
युएईको आइसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रन बनाएको थियो । नेपालले दिएको २३४ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा २३७ रन बनाउँदै नेपालले दिएको लक्ष्य पूरा गर्यो ।
युएईका लागि ओपनर ब्याटर आर्यान्स शर्माले ९८ रनको उत्कृष्ट पारी खेले । युवा ब्याटर आर्यान्स शर्माले ९७ बलमा १० चौका र ३ छक्का प्रहार गरे । युएईको सम्हालिएको ब्याटिङको साझेदारी तोड्न नेपाली बलरलाई निकै गाह्रो भयो ।
पहिलो विकेट ६३ मा ओपनर अलिशान सर्राफुको विकेट गएको थियो । अलिशानले ४५ रन बनाएर क्याच भए । दोस्रो विकेट सोयब खान डक आउटको रुपमा पेभेलियन फर्किए । २ विकेट पछि ११८ मा कप्तान राहुल चोपरा रिटार्यट हर्ट भए । ३३.५ ओभरमा कुशल भुर्तेलले मोहम्मद वसिमलाई २६ रनमा रनआउटको रुपमा डगआउटमा फर्काए ।
सन्दीप लामिछानेले नेपालका लागि सबैभन्दा महँगो बनेका आर्यान्स शर्माको विकेट लिए । ध्रुव परासर र जहिद अलि क्रमशः १६ र ६ रनमा अविजित रहे । नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए । करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय पारी खेलका थिए । ओपनर आसिफ शेखले ३५ रन बनाए । आरिफ शेखले २७ रन बनाए । आरिफले कप्तान रोहितसँग चौथो विकेटको लागि ७० रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
पाँचौं विकेटको रूपमा ऐरी रनआउट भए । उनले पाँचौं विकेटका लागि कप्तान रोहितसँग ५४ रनको साझेदारी गरेका थिए । उनी ४१.२ ओभरमा रन आउट भए । त्यसपछि आएका गुल्सन झा डकआउट भए । सोमपाल कामी ६ रनमा बोल्ड भए । करण केसी १३ रनमा क्याच भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे । ललित अन्तिम बलमा क्याच हुँदा नेपाल अलआउट भएको हो ।
युएईका लागि जहिद अलिले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्धिकीले ३ विकेट लिँदा मोहम्मद रोहिद, हैदर अलिले १-१ विकेट लिए ।
नेपाल जारी प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।