नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
महासंघले आज यहाँ आयोजना गरेको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुन थालेको भन्दै राजनीतिक दलले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी-व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।
निर्बाध पेसा-व्यवसाय गर्न पाउने अधिकार, सम्पत्तिको हकसम्बन्धी संविधानप्रदत्त नैसर्गिक अधिकारको सम्मान र नीतिगत स्थायित्व सुनिश्चित नगरी लगानी विस्तार सम्भव नहुने उनको भनाइ थियो ।
संवैधानिक व्यवस्था, भूराजनीतिक अवस्था, परम्परागत राजनीतिक सिद्धान्त र सामाजिक न्यायसम्बन्धी बहसका कारण अधिकांश राजनीतिक दलमा उदार अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र समाजवाद उन्मुख नीतिबारे अन्योलमा देखिएको पनि महासंघको ठहर छ ।
दलहरू स्पष्ट दिशामा उभिन सकेनन् भने सुशासनसहित रोजगारी र स्वरोजगारका पर्याप्त अवसर सिर्जना गर्ने युवा पुस्ता (जेनजी)को अपेक्षा पूरा हुन नसक्ने महासंघले जनाएको छ ।