दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

Yangle News
Yangle News
२०८१ चैत्र २९ गते
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्‍याइएको छ । झापाबाट ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्धएयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो ।

उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए ।

गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर प्रसाईं फरार भएका थिए । प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । उनी हिजो नै पक्राउ परेको भन्ने सूचना सार्वजनिक भए पनि प्रहरीले भने त्यसको खण्डन गरेको थियो । प्रहरीले आज बिहान मात्र प्रसाईं पक्राउको औपचारिक पुष्टि गरेको थियो ।

प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो । यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

प्रहरीले १५ गतेको प्रर्दशन हिंसात्मक बनाएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ ।

यसैबीच, प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईंसँगै अंगरक्षक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

Yangle News