वरिष्ठ कलासाधक गुरुङ ‘श्रष्टा सम्मान’द्वारा सम्मानित

Yangle News
Yangle News
२०८२ साउन ३१ गते
वरिष्ठ कलासाधक गुरुङ ‘श्रष्टा सम्मान’द्वारा सम्मानित

खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ कलासाधक क्षेत्रबहादुर गुरुङलाई प्रदान गरेको छ । आज काठमाडौंमा ट्रष्टद्वारा आयोजित समारोहमा वरिष्ठ कलासाधक गुरुङ सम्मानित भएका हुन् ।

२००७ सालमा तत्कालीन स्याङ्जाको मट्टिखान, धुवाँरकोट (हाल: पोखरा महानगरपालिका-२१, कास्की)मा जन्मिएका गुरुङले लोक गीतसंगीत र लोक संस्कृतिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिएको ट्रष्टले जनाएको छ । गुरुङलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान-पत्र प्रदान गरेको छ । गुरुङका ‘कलिलो तामालाई’, ‘१६ वर्षे उमेरैमा’, ‘झण्डै मैले सिन्दूर घसेको’लगायत गीतहरु चर्चित छन् ।

यसअघि यो सम्मान गीतकार रत्नसम्शेर थापा (२०७४), संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६), गायक दीप श्रेष्ठ (२०७९), भजन शिरोमणि गायक भक्तराज आचार्य (२०८०) र संगीतकार शिलाबहादुर मोक्तान (२०८१)लाई प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गीतकार विपिन किरणलाई प्रदान गरेको छ । दर्जनौं लोकप्रिय गीत रचना गरेर नेपाली सुगम संगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका उनलाई ट्रष्टले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेको हो । यसअघि यो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५), सुसन लामा (२०७६), भविन ढुंगाना (२०७९), तुलसी बस्नेत (२०८०), टीका चाम्लिङ (२०८१)लाई प्रदान गरिएको थियो ।

Yangle News

२०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड-१९ महामारीका कारण स्थगित गरिएको थियो ।

खेमराज गुरुङ ट्रष्ट नेपाली गीत-संगीत, कला-साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्ने लगायतका उद्देश्य राखेर २०७३ सालमा स्थापना गरिएको हो । ‘वारि जमुना, पारि जमुना’, ‘आलु तामाले’, ‘धरान बजार’लगायत दर्जनौं लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।

Yangle News