गण्डकी प्रदेशमा आज पनि यातायात ठप्प

Yangle News
Yangle News
२०८२ जेष्ठ १७ गते
गण्डकी प्रदेशमा आज पनि यातायात ठप्प

सार्वजनिक यातायात व्यवसायीले गरेको यातायात बन्दका कारण आन्दोलनको दोस्रो दिन पनि गण्डकी प्रदेशका सडक सुनसान बनेका छन् ।

केही समयअघि मात्रै गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा शुक्रवारदेखि प्रदेशभरि सार्वजनिक यातायात ठप्प पारिएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबारदेखि आफ्ना सवारी साधन थन्काएर नियमावलीको विरोध गरिरहेका छन् ।

प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङसम्बन्धी नियमावली पारित गरेको थियो । व्यवसायीले उक्त नियमावली खारेजीको माग गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीका अनुसार प्रदेशभर गुड्ने करिब १५ हजारभन्दा बढी गाडी अहिले घर र ग्यारेजमा थन्क्याइएको छ । पोखरालगायत प्रदेशभर नै लामो तथा छोटो दूरीका बस, मिनिबस, ट्याक्सीलगायत सार्वजनिक सवारी साधन चलेका छैनन् । पर्यटक बस, निजी सवारी साधन मात्रै सञ्चालनमा रहँदा सडकमा फाटफुट रूपमा मात्रै सवारी देखिएका छन् ।

सार्वजनिक सवारी बन्द यात्रुहरू मारमा परेका छन् । विशेषतः उपचारको लागि पोखरा जानुपर्ने जिल्लाका बिरामीहरू यातायात बन्दबाट बढी प्रभावित भएका छन् । पोखराबाट विभिन्न स्थानमा आउजाउ गर्ने सवारीहरू ठप्प हुँदा प्रदेशको राजधानी समेत सुनसान बनेको छ ।

आन्दोलनको कार्यक्रमअन्तर्गत जेठ १८ गतेसम्म प्रदेशभरि सार्वजनिक यातायात ठप्प पार्ने निर्णय व्यवसायीहरूले गरेका छन् । यस्तै, शुक्रवार काठमाडौंको २७ किलोमिटर चक्रपथ सडकमा समेत गाडी रोकेर विरोध गर्ने र सोही दिन संयुक्त ट्रेड युनियनको बैठकबाट थप कार्यक्रमको घोषणा गरिने केसीले बताए । यसैगरी १८ गते आठ वटा घटक संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । यो विरोधबाट पनि सरकार प्रारम्भिक विरोधबाट पनि पछि नहटे १९ गतेदेखि देशैभर यात्रुवाहक र मालवाहक गाडीहरू ठप्प पार्ने चेतावनी यातायात व्यवसायीले दिएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आन्दोलन गरिरहेका हुन् ।

संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी रहेको र गण्डकी प्रदेश सरकारले गत जेठ १ गते रापजत्रमा प्रकाशन गरी निजी सवारी सञ्चालन गर्न ल्याएको नियमावलीको दफा २ को ‘ज’ तत्काल खारेज हुनुपर्ने यातायात व्यवसायीहरुको माग छ ।