डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगले विद्युत् महसुलको पहिलो किस्ता बुझाएका छन् । जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङ उद्योगले क्रमशः ५ करोड ७२ लाख र १ करोड १४ लाख रुपैयाँ बुझाएका हुन् ।
बाराको सिमरास्थित जगदम्बा स्टिल र पर्साको त्रिवेणी स्पिनिङ उद्योगले बुधबार साँझ ४ बजे विद्युत् महसुलको पहिलो किस्ताको रकम बुझाएका हुन् । प्रधानमन्त्रीसहितको उच्चस्तरीय छलफलपछि उद्योगीहरू महसुल बुझाउन तयार भएका हुन् ।
जगदम्बा स्टिलको कुल बुझाउनुपर्ने रकम १ अर्ब ६० करोड र त्रिवेणी स्पिनिङ उद्योगको कुल ३२ करोड ९ लाख रहेको छ । यसैमध्येबाट दुवै उद्योगले किस्ता बुझाएका हुन् । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल रकमलाई २८ किस्तामा बुझाउने व्यवस्था गरेको छ ।
दुवै उद्योगको ६६ हजार केभीको प्रसारण लाइन महसुल बुझाएलगत्तै जडान गरिएको नेपाल उद्योग प्राधिकरणले जनाएको छ । यसअघि डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन बाँकी रहेका बारा पर्सा औद्योगिक करिडोरका हुलास स्टिल, हामा आइरन, अशोक स्टिल लगायतका उद्योगले पहिलो किस्ताको रकम बुझाइसकेका छन् ।